लमजुङ अस्पतालमा रक्त सञ्चार केन्द्र स्थापना

-


     पवन बाबु घिमिरे    
     माघ १९ गते २०८० मा प्रकाशित


जिल्ला अस्पताल लमजुङमा रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ । केन्द्रको शुक्रवार एक कार्यक्रमका बिच पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले उद्घाटन गर्नुभएको हो ।

रक्त सञ्चार केन्द्रको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि गुरुङले अस्पतालको पूर्वाधार निर्माण साथै गुणस्तरीय स्वास्थ्य सेवाका लागि आफू हरदम सहयोग गर्न तयार रहेको बताउनुभयो । स्वास्थ्य, शिक्षा र आम जनताका सरोकारका विषयमा सबै राजनीतिक दलको साझा धारणा साथ काम गरे मात्रै चाहे जस्तो नतिजा आउने नेता गुरुङको भनाई थियो ।

रक्त सञ्चार केन्द्र सहित अस्पतालमा जडान गरिएको तीन सय केभी ट्रान्सफर्मरको समेत उद्घाटन गरिएको छ ।

आफु स्वास्थ्य मन्त्री भएकै बेलामा गण्डकी प्रदेशमा सुत्केरी महिलाका लागि निःशुल्क रगत उपलब्ध गराउन थालनी गरिएको कार्यक्रमका विशेष अतिथी एवं गण्डकी प्रदेश सरकारका पूर्व स्वास्थ्य मन्त्री मधु अधिकारीले बताउनुभयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयँल मन्तव्य राख्नु भएको थियो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजंग तामाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम मेडिकल सुपरीटेन्डेण्ट डा विशाल तिवारीले सञ्चालन गर्नुभएको थियो भने व्यवस्थापन समितिका सदस्य दीपक बरालले स्वागत गर्नुभएको थियो ।

दैनिक ३ सय देखि ४ सयको हाराहारीमा विरामी आउने जिल्ला अस्पतालमा यस अघि रक्त सञ्चार केन्द्र नहुँदा निकै समस्या हुने गरेको थियो । १ सय ८० प्याकेट संचित हुने क्षमताको रक्त सञ्चार केन्द्र स्थापना भएपछि विरामीहरुलाई आगामि दिनमा सहज हुने आशा गरिएको छ ।