लमजुङमा सुटिङ गरिएको फिल्म ‘सतीदेवी’को पोस्टर सार्वजनिक

-


     नयाँ दीप    
     मंसिर ८ गते २०८० मा प्रकाशित


लमजुङको मध्यनेपाल नगरपालिकामा सुटिङ गरिएको फिल्म ‘सतीदेवी’को पोस्टर सार्वजनिक भएको छ ।
मध्यनेपाल नगरपालिकाको वडा नं ५ सिसाघाटमा नारीप्रधान फिल्म सतीदेवी ८५ प्रतिशत छायाङ्कन गरिएको थियो ।

पोस्टरमा एक महिला पात्रलाई जुत्ताको मालासहित कालोमोसो दलेर गाउँलेले लखेटिरहेको देखिन्छ । भर्खरको उमेरकी यी गाउँले युवती त्रसित मनोविज्ञान सहित भागिरहेकी छिन् । उनको नियति के हुने हो, त्यसको सार फिल्मले नै भन्ला । पोस्टरमा देखिएकी कलाकार पछिल्लो छिमलकी व्यस्त अभिनेत्रीमध्ये पर्ने मलिका महत हुन् ।

मलिकालार्ई एकल महिलाको चरित्रमा पेश गरिएको छ । समग्रमा यो बाउछोरीबीचको सम्बन्धको कथा हो । छोरा पाउने चाहनामा छोरी जन्माउने र अपहेलना गर्ने प्रवृत्तिको कथा ।

ग्रामीण सेटिङमा खिचिएको फिल्मको यो पोस्टरले गणतन्त्रमा महिला, दलित, सीमान्तकृत र अपहेलित पात्रको दुदर्शाको कथा पेश गर्छ । लक्ष्मण सुवेदीले सतीदेवी चरित्रमार्फत आफूले भोगेको र देखेको जीवनको कथालाई फिल्ममा पस्किएका छन् । सतीदेवीको भूमिकामा मलिकाले अभिनय गरेकी छन् ।

फिल्मको लेखन, गीत, निर्माण र निर्देशन लक्ष्मण सुवेदीले गर्नुभएको छ । एकै खालको फिल्म हेरेर दर्शक वाक्क भएका बेला समाजमा आफैंले देख्दै भोग्दै आएको यथार्थ कथामा फिल्म बनको निर्देशक सुवेदीले बताउनुभयो ।

फिल्मले महिला सशक्तीकरणको सन्देश दिने सुवेदीको भनाई छ । ‘यसमा यथार्थता छ । कला र व्यापारका दुवै तत्व मिसिएको छ । यो महिला संवेदनाको कथा हो । छोरी जन्मिंदा समाजले कसरी हेर्छ भन्ने कुरा छ । फिल्मले त्यो भ्रमबाट मुक्त गराउँछ । छोरी पात्रलाई बलियो रुपमा प्रस्तुत गरेको सुवेदीले बताउनुभयो ।’

फिल्ममा मलिकासहित सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोलाराज सापकोटा लगायतको अभिनय छ । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहेको फिल्मको निर्माता श्रीदेवी सुवेदी हुन् ।
यो फिल्मलाई वर्षको अन्त्यतिर रिलिज गर्ने निर्माताको तयारी छ ।