लमजुङ सदरमुकाम बेसीशहरमा जडान गरिएको सिसी क्यामेरा र सडक बत्ती मर्मत हुन सकेन

-


     भरत बाबु घिमिरे    
     असाेज १६ गते २०८० मा प्रकाशित


चाडवाड नजिकिदै गर्दा लमजुङको सदरमुकाम बेसीशहरका सडकमा एकातिर सिसी क्यामेरा विग्रिएको अवस्थामा छ भने अर्काे तर्फ सडक बत्ती मर्मत हुन सकेको छैन ।

ठाउँ ठाउँमाम विग्रिएका सडक बत्ती र सिसी क्यामेरा मर्मत हुन नसके पछि सडक अन्धकार भएको छ भने अपाराधिक कृयाकलाप बढ्ने सक्ने त्रास स्थानीयमा बढ्न थालेका छ ।

सदरमुकाम बेसीशहरमा विभिन्न चोकहरुमा जडान गरिएको सिसी क्यामेराको मर्मत हुन सकेको छैन । बेसीशहर नगरापालिका, जिल्ला प्रहरी कार्यालय र लमजुङ उद्योग बाणिज्य संघ बेसीशहर इकाइले पटक पटक गरी बेसीशहर बजारका ३३ ठाउँमा सिसी क्यामेरा जडान गरिएको थियो । तर अहिले जम्मा ४ वटा मात्रै चालु अवस्थामा छ । जडान भएका २९ वटा सिसी क्यामेरा विग्रिएको छ । विग्रिएको वर्षै भै सक्दा पनि मर्मत गरिएको छैन ।

२ वर्ष अघि २०७८ सालमा बेसीशहर नगरपालिकाले ११ लाख खर्चेर मर्मत गरेपनि हालसम्म आइपुग्दा जम्मा ४ वटा क्यामेराले मात्रै काम गरिरहेको छ ।

आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने र बजारवासीलाई सुरक्षा प्रदान गर्ने मुख्य उद्देश्यका साथ सिसी क्यामेरा जडान गरिएको भएपनि त्यसको खासै प्रयोग हुन नसकेको स्थानीयहरुले गुनासो गरेका छन् । ।

सिसी क्यामेरा जडान गरिए पछि बेसीशहर बजार क्षेत्रमा ट्राफिक नियम उल्लंघन तथा अन्य अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास गरिएको थियो ।

जिल्ला सदरमुकामको भौगोलिक बनावट सुरक्षाका दृष्टिले संवेदनशील भएको र कुनै घटनापछि अभियुक्त वा अपराधी सजिलै फरार हुने सम्भावना बढिरहेकाले सिसी क्यामेरा मार्फत निगरानी गर्न सघाउ पुग्नेमा स्थानीयको विश्वास थियो ।

पाँचसय मिटर दूरी सम्मको क्रियाकलाप प्रष्ट रेकर्ड गर्न सक्ने अत्याधुनिक सीसी क्यामरा जडान गरेको भनिए पनि मर्मत सम्भार हुन नसेपछि स्थानीय भने खासै ढुक्क हुन सकेका छैनन् । क्यामेराको कन्ट्रोल र व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालयलाई जिम्मा दिएर कन्ट्रोल रुम जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

सिसी क्यामेराको लागि नगरपालिकाले आफैले जडान गरेको फाइबरको समस्या भएको कारण आगामी दिनमा इन्टरनेट कम्पनीलाई नै यसको जिम्मा दिने कुरा भै रहे पनि निर्णय भने नभएको नगरपालिकाले जनाएको छ ।

त्यस्तैगरी बेसीशहरका सडकको दायाँ बाँया राखिएको सडक बत्तीहरु पनि विग्रिएको वर्षाै सम्म पनि मर्मत गरिएको छैन । बेसीशहर नगरपालिकाले नगरबासीलाई सुविधा होस् भनेर सडक बत्ती राखेको भएपनि त्यसको मर्मत सम्भारमा भने ध्यान नदिएको स्थानीयले बताएका छन् । पटक पटक बक्ति बनाउनको लागि नगरपालिकामा खबर गरे पनि कुनै सुनुवार्ई नभएको बेसीशहर सेराकी सीता गुरुङले बताउनुभयो । आफ्नो घर रहेको सेरा सितलपाटी जानेबाटोको बत्ती विगत १३ महिना अघि देखि विग्रिएको भएपनि हालसम्म मर्मत नभएको गुरुङको भनाई छ ।

बजार क्षेत्रमा दिनप्रतिदिन चोरीका घटना घटिरहकाले स्थानीय त्रसित छन् ।

यता बेसीशहर नगर पालिकाका प्रमुख गुमान सिं अर्यालले यो वर्ष सिसी क्यामेरा मर्मत र सडक बत्ती का लागि बजेट विनियोजन गरेकोले अव छिट्टै मर्मत कार्य सुरु हुने बताउनुभएको छ ।