
४४ औं विश्व पर्यटन दिवशको अवसरमा लमजुङमा विदेशी पर्यटकलाई सम्मान गरिएको छ । सदरमुकाम बेसीशहरमा आएका १० बर्षिय विदेशी नागरीक जोन संगै अन्य २३ जना पर्यटकलाई बुधबार विहान सम्मान गरिएको हो ।
पर्यटकहरुलाई बेसीशहर नगरपालिका नगरप्रमुख गुमानसिंह अर्यालले ढाका टोपी र प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले रातो टिका लगाई स्वागत तथा सम्मान गर्नुभएको हो ।
पर्यटन दिवशको अवसरमा पर्यटन तथा उद्योग कार्यालयको लमजुङको आयोजना, बेसीशहर नगरपालिकाको सहआयोजना र होटल व्यावसायी संघको समन्वयमा ‘टुरिजम एण्ड ग्रिन इन्भेस्टमेन्ट’ भन्ने मुलनाराका साथ बेसीशहरको मनाङे चौतारबाट निकालिएको र्याली भिमसेन स्थान, नारायण स्थान हुँदै सेरा चोकमा पुगि कोण सभामा परिणत भएको थियो ।

यसै विच पर्यटन कार्यलयको आयोजनमा पर्यटन गोष्ठीको समेत आयोजना गरिएको थियो । गोष्ठीमा गण्डकी प्रदेश सभा सदस्य डा.टकराज गुरुङको प्रमुख आथित्थ्यता रहेको थियो । सो अवसरमा डा. गुरुङले लमजुङको पर्यटनलाई विकास गर्न आफ्नै जिल्लाको सक्षम नागरिकहरु उत्पादन गर्नुपर्ने बताउनुभयो । पछिल्लो समय विभिन्न असुविधाका कारण पर्यटकीय स्थलका बासिन्दाहरु पनि बसाइसराईँ गरेर अन्यत्र जाने र सम्भावना बोकेका ठाउँपनि विकास नभएकै करण ओझेलमा परेको भन्दै जिल्लामा भएका पर्यटनको स्रोत र साधनलाई चिन्न र सदुपयोग गर्न सके पर्यटनको विकास हुने डा. गुरुङको भनाई थियो ।
लमजुङ जिल्ला पर्यटनको प्रचुर संभावना बोकेको जिल्ला भएकाले पनि यहाँ लुकेर रहेका महत्वपुर्ण स्थलहरुका संरक्षण र प्रवद्र्धनको लागी पहल गर्नुपर्ने भन्दै जिल्लामा विदेशी पर्यटक भित्राउन स्थानीय भेषभुषा, भाषा–धर्म, प्रकृति र संस्कृतिले नै पर्यटकलाई आकर्षित गर्ने भएकाले त्यसको जर्गेना गर्नुपर्नेमा डा. गुरुङको जोड थियो ।
कार्यक्रममा बेसीशहर नगरपालिकाका उपप्रमुख पद्मा गुरुङले बेसीशहर नगरपालिका भित्र रहेका होमस्टे प्रवद्र्धनका लागि प्रस्तावना र सुचकका आधारमा होमस्टे सञ्चालकहरुलाई १०÷१० लाख सहयोग गरेको बताउनुभयो । नगरपालिकाको समृद्धिको लागि पर्यटकिय क्षेत्रको विकासका लागि एतिहासिक रुपमा रहेको बराहपोखरी जानेबाटो ट्रयाक खोलीसकेको र बाटो स्तरउन्नतिका लागि नगरपालिले बजेट विनियोजन गर्ने उपप्रमुख गुरुङले बताउनुभयो ।
कार्यक्रममा पर्यटन तथा उद्योग कार्यालय लमजुङका मिताकुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष मदन राना, जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जगदिश मिश्र, होटल व्यवसायी रामकुमार श्रेष्ठ, रोहीणीराज लौडारी, डिभिजन वन कार्यालयका सुचना अधिकारी सन्तोष खनाल, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्रीकृष्ण लामिछाने लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विभिन्न कार्यलयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहको थियो । कार्यक्रमको सञ्चालन पत्रकार किसानसंगीत नेपालीले गर्नुभएको थियो ।
चालु आर्थिक बर्ष २०८०⁄०८१ को साउन देखि हालसम्म दुई सय आठ जना पर्यटकले बेसीशहर नगरपालिका ७ स्थित पर्यटन प्रवेश शुल्क काउन्टर तथा पर्यटक सुचना केन्द्रबाट परमिट लिएको बताइएको छ । सूचना केन्द्रका अनुसार गत बर्षमा भने एक हजार चार सय ५० जनाले परमिट लिएका छन् ।
पर्यटन दिवसकै अवसरमा गाउँ गाउँ पुगेका पर्यटकहरुलाई पनि गाउँलेहरुले फुलमाला, खादाले भब्य स्वागत गरेका छन् ।
लमजुङको सदरमुकाम बेसीशहर हुँदै अन्नपूर्ण पदमार्गमा जाने पर्यटकको संख्यामा दिनप्रतिदिन वृद्धि हुँदै गएको छ । विगत २ वर्ष अघि कोरोनाका कारण ठप्प जस्तै भएको पर्यटन व्यवसाय पछिल्लो समय चलायमान हुन थाले पछि पर्यटन व्यवसायीहरु पनि उत्साहित हुन थालेका छन् ।