
लमजुङको मस्र्याङदी गाउँपालिका–८ भुलभुलेमा रहेको हामखोला झरनामा ‘वाटरफल फेस्टिबल’ को आयोजना गरिएको छ ।
शनिबार गरिएको वाटरफल फेस्टिबलमा विषेश गरी युवायुवतीको उपस्थिती बाक्लो रह्यो ।
आयोजक हामखोला ब्यवस्थापन समितिले हामखोला भरनाको प्रचारप्रसार गर्न आयोजना गरिको वाटरफल फेस्टिबलमा प्रतिष्ठित डिजेको साङगितीक प्रस्तुति रहको थियो ।
सदरमुकाम बेसीशहरबाट उत्तर तर्फ पर्ने मस्र्याङदी गाउँपालिकाको हामखोला झरनामा यो तेस्रो वाटरफल फेस्टिवल हो । गर्मी मौसम त्यसमा छङछङ झरेको झरनामा रमाउँदै, सेल्फी लिँदै, डिजेको साथमा थुवायुवती निकै रमाएका थिए ।
अन्नपूर्ण पदमार्गको छेवैमा पर्ने हामखोला झरनामा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरीे महोत्सव आयोजना गरिएको थियो ।
प्राकृतिक सुन्दरताले निकै आकर्षक रहेको यस ठाउँलाई पर्यटकीय गन्तव्य बनाउन गाउँपालिकाको सहयोगमा भौतिक संरचनाहरु निर्माण गरिएका छन् । गाउँपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा झरनासम्म जाने बाटो, रेलिङ, मैदान लगायत निर्माण गरिएको छ भने, झरनाबाट बगेको पानीमा पौडिन चाहनेका लागि पोखरी बनाइएको छ ।
मस्र्याङदी गाउँपालिका भित्र आयोजना गरिएका यस्ता मेला महोत्सवले गाउँपालिकासँगै सिंगो जिल्लाको पर्यटन प्रवर्द्धनमा सघाउ पु¥याउने मस्र्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको भनाई छ । यसअघि २०७६ साउन २५ गते पहिलोपटक हामखोला झरनामा महोत्सव भएको थियो । कोरोना संक्रमणका कारण ३ बर्ष विथोलिएको महोत्सव गतबर्षदेखि पुनः निरन्तरता दिन लागिएको हामखोला झरना महोत्सवका संयोजक प्रमोद घलेले बताउनुभयो ।

वाटरफल महोत्सवमा करिव ४ सय जनाको उपस्थिती रहेको थियो ।