
मर्स्याङ्दी नदीमा पानीको बहावसँगै लेदो र बालुवा बढेपछि लमजुङका दुई ठूला जलविद्युत् आयोजनाले विद्युत् उत्पादन बन्द गरेका छन्।
७० मेगावाटको मध्य–मर्स्याङ्दी जलविद्युत् आयोजनाले आइतबार बिहान ४ बजेदेखि उत्पादन रोकेको हो। बाँधमा लेदो र बालुवा थुप्रिँदै गएपछि जोखिम बढेकाले आयोजनाका तीनवटै ढोका खोलिएको केन्द्रप्रमुख तारादत्त भट्टले बताए।
यसअघि शनिबार पनि आयोजनाले दुई पटक ‘सर्ट डाउन’ गरी बाँधमा जम्मा भएको बालुवा हटाएको थियो। नदीको बहाव नघटेसम्म र लेदो नहटेसम्म उत्पादन पुनः सुरु गर्न नसकिने आयोजनाले जनाएको छ।
त्यस्तै, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाले पनि शनिबार राति १ बजेदेखि उत्पादन बन्द गरेको छ। नदीमा प्रतिसेकेन्ड करिब १ हजार ५ सय घनमिटर पानीको बहाव पुगेपछि आयोजनाका तीनवटै ढोका खोलिएको आयोजना प्रमुख कर्ण अधिकारीले जानकारी दिए।
नदीको बहाव र बाँधको अवस्था हेरेर दुवै आयोजनाले विद्युत् उत्पादन पुनः सञ्चालन गर्ने जनाएका छन्।









