
नेपाली कांग्रेससँगको सम्बन्ध तीर्थ बहादुर थापा लागि केवल राजनीतिक आबद्धताको विषय होइन, यो उहाँको जीवनको लामो संघर्ष, आन्दोलन, संस्कृति र सामाजिक योगदानसँग जोडिएको यात्रा हो। विद्यार्थी जीवनदेखि सुरु भएको उहाँको राजनीतिक यात्रा विभिन्न आन्दोलन हुँदै नेपाली कांग्रेसको सांस्कृतिक अभियानसम्म पुगेको छ। हाल आफू नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि लमजुङ जिल्लाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार रहेको स्पष्ट पार्दै थापाले महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि आगामी असोज १६ गतेबाट काठमाडौं हुने केन्द्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने इच्छा रहेको बताउनुभयो ।
लमजुङको बेसीशहर न.पा २ बगालेगाउँ घर भएका थापाको कांग्रेससँगको सम्बन्ध विद्यार्थी जीवनमै जोडिएको थियो। २०२७ सालसम्म तत्कालीन विद्यार्थी नेताहरू दिलबहादुर घर्ती, खड्गबहादुर अधिकारी, शान्ति बोहरा, नवीन बानिया, तारा कोइराला लगायतका तत्कालिन नेताहरूले गाउँ तथा सहरमा कक्षा ७–८ मा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई नेपाल विद्यार्थी संघको सदस्यता प्रदान गर्नुभएको थियो। त्यस क्रममा आफू लगायत रामबहादुर गुरुङ, स्व.कृष्णबहादुर धिताल, स्व . रामबहादुर बोहरा, कृष्ण गुरुङ लगायत थुप्रै विद्यार्थीहरू नेपाल विद्यार्थी संघमा आबद्ध भएका थिए। तत्कालीन विद्यार्थी नेता नवीन बानियालगायतका साथीहरू संगठन र लोकतान्त्रिक आन्दोलनका क्रममा लामो समय जेलसमेत पर्नुभएको थापाले स्मरण गर्नुभयो ।
त्यस समयका अग्रज तथा तत्कालीन नेताहरूको योगदान र मार्गदर्शनलाई आफूले सधैँ सम्मानका साथ स्मरण गर्दै उहाँहरुले विद्यार्थी राजनीतिमा पुर्याएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । त्यतिबेला कांग्रेस र नेपाल विद्यार्थी संघबारे धेरै जानकारी नभए पनि विद्यार्थी आन्दोलन र राजनीतिक चेतनासँग जोडिँदै उहाँको यात्रा अघि बढ्यो।
विद्यालय शिक्षा पूरा गरेपछि नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पस पुगेका थापा विद्यार्थी राजनीतिमा थप सक्रिय हुनुभयो । त्यहाँ विद्यार्थी युनियनको सचिवको जिम्मेवारी सम्हाल्दै दुई वर्ष काम गरेपछि काठमाडौं आएर विद्यार्थी आन्दोलनमा जोडिएको बताउनुहुन्छ । २०३६ सालको चर्चित विद्यार्थी आन्दोलनदेखि विभिन्न लोकतान्त्रिक आन्दोलनमा सहभागी हुँदै उहाँले आफ्नो राजनीतिक यात्रा निरन्तर अघि बढाउनुभयो ।

२०४६ सालको जनआन्दोलन र त्यसअघिका विभिन्न संघर्षमा पनि सक्रिय हुनुभएका थापाले सत्याग्रहका क्रममा दुई दिन जेल जीवनसमेत बिताउनुपरेको थियो । आन्दोलनका क्रममा परिवार र व्यक्तिगत जीवनमा आएका कठिनाइका बाबजुद आफूले लोकतान्त्रिक आन्दोलनको बाटो नछाडेको उहाँको भनाइ छ।
राजनीतिसँगै थापाले सांस्कृतिक क्षेत्रलाई पनि आफ्नो संघर्षको महत्वपूर्ण माध्यम बनाउँदै अघि बढ्नुभयो । चलचित्र क्षेत्रमा समेत काम गरेको अनुभव भएका थापाले गीत, कविता, साहित्य र सांस्कृतिक कार्यक्रममार्फत राजनीतिक चेतना फैलाउने अभियानमा आफूलाई सक्रिय बनाउनुभयो । सडकदेखि विभिन्न सार्वजनिक मञ्चसम्म सांस्कृतिक कार्यक्रममार्फत लोकतन्त्र र परिवर्तनको सन्देश प्रवाह गर्ने काममा उनी निरन्तर सहभागी भइरहको बताउनुहुन्छ ।
थाापाको सांस्कृतिक सक्रियताले तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको समेत ध्यान खिचेको थियो। कोइरालाले आफूलाई बोलाएर सांस्कृतिक अभियानको प्रभावबारे छलफल गरेको थापा सम्झनुहुन्छ ।
थापाका अनुसार बीपी कोइरालाको समयमा पनि राजनीतिक आन्दोलनसँगै सांस्कृतिक अभियानलाई महत्वपूर्ण माध्यमका रूपमा प्रयोग गरिएको थियो। साहित्यकार, कलाकार र बौद्धिक व्यक्तिहरूलाई जोडेर जनतामाझ राजनीतिक चेतना फैलाउने परम्परालाई निरन्तरता दिनुपर्ने सोचबाट आफूहरू प्रेरित भएको थापाको भनाई छ ।
यही पृष्ठभूमिमा २०६२ साल फागुनमा नेपाल सांस्कृतिक संघ गठन गरिएको र त्यसलाई नेपाली कांग्रेससँग आबद्ध संस्थाका रूपमा अघि बढाइएको थापाको भनाइ छ। त्यसपछि उहाँले नेपाल सांस्कृतिक संघमार्फत नेपाली कांग्रेसका विभिन्न राजनीतिक तथा सांगठनिक गतिविधिमा निरन्तर सहभागिता जनाउँदै आउनुभएको छ ।
चौधौँ महाधिवेशनपछि नेपाल सांस्कृतिक संघको संगठन विस्तार र अधिवेशन प्रक्रियामा समेत आफू सक्रिय रहेको भन्दै विभिन्न जिल्लामा अधिवेशन सम्पन्न गर्दै संगठनलाई संस्थागत रूपमा अघि बढाउने काममा आफूले भूमिका निर्वाह गरेको उहाँको भनाइ छ।
अब भने उहाँको राजनीतिक यात्राले नयाँ मोड लिएको छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई थापाले पार्टीभित्र नयाँ पुस्ता, बौद्धिक क्षेत्र र विभिन्न पेशागत समुदायको प्रतिनिधित्व स्थापित गर्ने अवसरका रूपमा हेरेको बताउनुुभएको छ ।
थापाका अनुसार कांग्रेसभित्र पुरानो र नयाँ पुस्ताबीचको बहस, नेतृत्व र संगठन सुधारका विषयमा विभिन्न धारणा भए पनि पार्टीलाई थप आधुनिक, समावेशी र जनमुखी बनाउने दिशामा महाधिवेशन केन्द्रित हुन आवश्यक छ।
थापा कांग्रेसको आगामी नेतृत्वमा युवा पुस्तासँगै बौद्धिक र पेशागत क्षेत्रको प्रतिनिधित्व पनि आवश्यक रहेको बताउँनुहुन्छ । वकिल, चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, प्राध्यापक, शिक्षक, पूर्वकर्मचारीलगायत विभिन्न पेशागत क्षेत्रका व्यक्तिहरूलाई पार्टीको नीति निर्माणमा प्रभावकारी रूपमा सहभागी गराउनुपर्ने उहाँको धारणा छ।
त्यसैगरी लोकतान्त्रिक आन्दोलनमा योगदान गरेका प्रजातान्त्रिक सेनानी, आन्दोलनका क्रममा घाइते भएका व्यक्ति तथा शहीद परिवारको सम्मान र प्रतिनिधित्वलाई पनि संस्थागत गर्नुपर्नेमा उहाँको जोड छ।

यिनै विषयलाई प्राथमिकतामा राख्दै थापा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लमजुङबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने तयारीमा रहेको बताउनुभयो । विशेषगरी बौद्धिक, पेशागत तथा विशेषज्ञ क्षेत्रको प्रतिनिधित्व गर्दै पार्टीको नीति निर्माण तहमा पुग्ने थापाको उद्देश्य छ।
थापा आफ्नो उम्मेदवारीलाई व्यक्तिगत राजनीतिक आकांक्षाभन्दा पनि पेशागत तथा बौद्धिक समुदायको सम्मान, पहिचान, सुरक्षा र अधिकारलाई कांग्रेसको नीति तथा विधानमा थप संस्थागत गर्ने प्रयासका रूपमा प्रस्तुत गनुभएको छ ।
“मेरो राजनीतिक यात्रा लामो भएको छ, सम्भवतः यो मेरो राजनीतिक यात्राको अन्तिम चरण पनि हुन सक्छ,” थापाले भन्नुभयो, “तर बाँकी समय आफ्नो क्षेत्र र समुदायको अधिकारलाई पार्टीको नीति निर्माणमा स्थापित गर्न प्रयोग गर्न चाहन्छु।”
६० को दशक पार गरिसकेको अवस्थामा आफूलाई व्यक्तिगत पदभन्दा पनि लामो राजनीतिक अनुभवलाई पार्टी निर्माणमा उपयोग गर्ने अवसर महत्वपूर्ण रहेको उहाँको भनाइ छ। विभिन्न पेशा र क्षेत्रका व्यक्तिहरूले पार्टीलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले उनीहरूको सम्मान र प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने थापा बताउँनुहुन्छ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लमजुङबाट आउने क्षेत्रीय प्रतिनिधि, वडा सभापति तथा पार्टीका विभिन्न तहका प्रतिनिधिहरूसँग उहाँले आफ्नो उम्मेदवारीलाई सहयोग गर्न आग्रह गनुभएको छ ।
“सक्षम, अनुभवी र काम गर्न सक्ने व्यक्तिलाई जिम्मेवारी दिनुपर्छ। मेरो लामो राजनीतिक तथा सामाजिक यात्राको मूल्यांकन गरेर न्याय गर्नुहुनेछ भन्ने विश्वास छ,” थापाले भन्नुभयो ।
विद्यार्थी जीवनको सानो राजनीतिक आबद्धताबाट सुरु भएको तिर्थ थापाको यात्रा विद्यार्थी आन्दोलन, लोकतान्त्रिक संघर्ष, जेल जीवन, सांस्कृतिक अभियान, चलचित्र र साहित्य हुँदै अहिले नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्व खोज्ने चरणमा पुगेको छ।
उहाँका लागि यो उम्मेदवारी केवल एउटा पद प्राप्त गर्ने प्रयास होइन, लामो राजनीतिक यात्राबाट प्राप्त अनुभवलाई पार्टीको नीति निर्माणमा प्रयोग गर्ने र बौद्धिक तथा पेशागत समुदायको आवाजलाई कांग्रेसको मूलधारमा स्थापित गर्ने प्रयास हो।









