
प्रतिनिधिसभा निर्वाचन लागि लमजुङ जिल्लाका विभिन्न केन्द्रमा सम्पन्न निर्वाचनको मतपेटिका जिल्लामा ल्याउने क्रम सुरु भएको छ । सदरमुकाम बेसीशहर नजिक रहेको नगरपालिका तथा गाउँपालिकाबाट मतपेटिका ल्याइसकिएको छ भने जिल्लाका दुर्गम क्षेत्रमा रहेका पालिकाका मतपेटिका रातभरमा आइपुग्ने जिल्ला निर्वाचन कार्यलयले जनाएको छ ।

अहिलेसम्म बेसीशहर नगरपालिका, सुन्दरबजार नगरपलिका, मस्र्याङ्दी गाउँपालिका, राइनास नगरपालिकाका केन्द्रहरुबाट मतपेटिका ल्याउने क्रम जारी छ । आजरातीसम्म जिल्लाका सबै केन्द्रबाट मतपेटिका आइपुग्ने मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालले बताउनुभयो । भोली विहान ८ बजे सर्वदलिय बैठक बोलाएको र बैठकको सहमती पश्चात १० बजेबाट मतगणना सुरु गरिने ढकालले बताउनुभयो ।
लमजुङ जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको छ । जिल्लामा ५४.७४ प्रतिशत अर्थात् ७५ हजार ८५ मत खसेको छ । जसमा महिला (५५.८९ प्रतिशत) ३८ हजार ८ सय ५६ जना र पुरुष (५३.५९प्रतिशत) ३६ हजार २ सय २९ जनाले मतदान गरेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा कुल १ लाख ३७ हजार १ सय २४ मतदाता रहेका थिए । विहान ७ बजेदेखि साँझ ५ बजेसम्म लमजुङ जिल्लाका १ सय ३० मतदान स्थल र १ सय ९२ मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको छ ।
लमजुङमा सुरक्षाका व्यवस्था कडा मिलाइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र निर्वाचन प्रहरी २५ सय सुरक्षाकर्मी परिचालन गरिएको छ।










