आज मध्यरातिदेखि मौन अवधि सुरु, प्रचारप्रसार बन्द

-


     भरत बाबु घिमिरे     
     फागुन १८ गते २०८२ मा प्रकाशित


आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ। निर्वाचन आयोग नेपालले स्वच्छ, निष्पक्ष र शान्त वातावरणमा मतदान सम्पन्न गराउने उद्देश्यका साथ मौन अवधि लागू गरेको जनाएको छ।

मौन अवधिमा कुनै पनि प्रकारका चुनावी सभा, जुलुस, घरदैलो, भोट माग्ने गतिविधि, पोस्टर–पम्प्लेट वितरण तथा सामाजिक सञ्जालमार्फत गरिने प्रचार–प्रसार पूर्ण रूपमा निषेध गरिएको छ। मतदान केन्द्र आसपास राखिएका प्रचार सामग्रीसमेत हटाउनुपर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ।

आयोगका अनुसार मौन अवधि उल्लंघन गरेमा निर्वाचन कसुरसम्बन्धी कानुनअनुसार जरिवाना (दशौँ हजार रुपैयाँसम्म), उम्मेदवारको उम्मेदवारी रद्द गर्नेसम्मको कारबाही हुन सक्छ। साथै सामाजिक सञ्जाल वा सञ्चार माध्यममार्फत प्रचार गरेको पाइएमा सामग्री हटाउन निर्देशन दिई थप कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।

निर्वाचन आयोगले सबै राजनीतिक दल, उम्मेदवार, कार्यकर्ता तथा मतदातालाई कानुनको पालना गर्न आग्रह गर्दै उल्लंघन गर्नेलाई कडाइका साथ कारबाही गरिने स्पष्ट पारेको छ।

लमजुङ जिल्लामा निर्वाचन आचार संहिता उलंघन गरेको कारण तीनवटा राजनीतिक दललाई जिल्ला निर्वाचन कार्यालय लमजुङले यस अघि नै स्पष्टीकरण सोधेको छ । मोटर साइकल र्याली तथा जिङ्गल बजाएर प्रचार प्रसार गरेको प्रमाणका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एमाले र नेपाली कांग्रेस तथा ती दलका उम्मेद्वारलाई जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले स्पष्टीकरण सोधेको जनाएको छ ।