सामुदायिक विद्यालयलाई प्रविधि मैत्री बनाउने बेसीशहर नगरपालिकाको लक्ष्य

-


     सृजना बराल    
     फागुन ७ गते २०८२ मा प्रकाशित


लमजुङको बेसीशहर नगरपालिले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन सुरु गरेको छ । कार्यक्रम अन्र्तगत सामुदायिक विद्यालयका शिक्षकहरुका लागि आधारभूत सूचना प्रविधि तथा एआइ मैत्री शिक्षण सिकाइ सम्बन्धी तालिम दिन सुरु गरेको हो ।

विद्यार्थीहरुको पढाईलाई असर नपर्ने गरी विभिन्न विदाको दिन पारेर प्रशिक्षकको रुपमा रहेका शिक्षकहरु विनोद न्यौपाने, सूर्य अधिकारी, रणबहादर खड्का, घनश्याम शर्मा, पुष्पसागर बराल, विष्णु बराल र नगरपालिकाका कर्मचारी रेशम घिमिरे र सुनिल घिमिरेले तालिमको सहजिकरण गर्नुभएको छ ।

तालिम पश्चात प्रशिक्षकबाट प्रमाण पत्र लिदै यशोब्रह्म माविका प्रअ सूर्यप्रसाद बराल

नगरपालिकाको शिक्षकहरुलाई प्रविधिको प्रयोग गरी बालबालिकालाई सिकाउने बानीको विकास गर्ने, प्रविधिमैत्री शिक्षण मार्फत गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै विद्यालयमा ई लर्निङको व्यवस्था गर्ने र सामुदायिक विद्यालयमा सूचना प्रविधिको पहुँच विस्तार गर्ने लक्ष्य रहेको कार्यकारी अधिकृत सुमन अधिकारीले बताउनुभयो ।

नगरपालिका भित्रका १६ वटा सामुदायिक विद्यालयलका शिक्षकहरुलाई प्रदान गरिएको सूचना प्रविधि सम्वन्धि तालिममा पाठ योजना र प्रश्नपत्र डिजिटल रुपमा प्रयोग गर्ने, पाठयोेजनाहरु पावरपोइन्टको माध्यमबाट कसरी बनाउने, साइबर क्राइमबाट कसरी बच्ने, डिजिटल साक्षरता सम्वन्धी जानकारी, शिक्षामा आवश्यक पर्ने नेपाल सरकारका डिजिटल वेवसाइड, साथै पछिल्लो समय बढ्दै गैरहेको कृतिम बुद्धिमत्ता (ए.आइ) बाट कसरी सहज तरिकाले समस्याको समाधान गर्न सकिन्छ भन्ने बारेमा जानकारी गराइएको नगरपालिकाका कम्प्युटर अपरेटर रेशम घिमिरेले बताउनुभयो ।

दीर्घकालमा बेसीशहर नगरपालिकालाई प्रविधिमा उन्नत र स्मार्ट पालिकाको रुपमा विकास गर्नुका साथै २०८४ सालसम्म नगरपालिका भित्रका सबै विद्यालयलका कक्षा कोठामा डिजिटल माध्यमको प्रयोग गरी पढाउने व्यवस्था गर्ने लक्ष्य रहेको बेसीशहर नगरपालिकाको शिक्षा शाखा प्रमुख सिर्जना चिलुवाल पाण्डेले बताउनुभयो ।