
लमजुङको दोर्दी गाउँपालिकामा करिब ७ सय रोपनी (लगभग ३५ हेक्टर) क्षेत्रफलमा व्यावसायिक रूपमा अकबरे खुर्सानीको खेतीले उत्पादन दिन सुरु गरेको छ । यो वर्षबाट व्यवसायिक रुपमा सुरु गरिएको अकबरे खुर्सानी खेतीबाट अहिलेसम्म १२ हजार किलो बिक्री भएर ३० लाख रुपैयाँ भन्दा बढी आम्दानी भैसकेको छ ।
गाउँपालिकाको सहयोगमा दोर्दीका किसानहरुले खेर गइरहेको खेतबारीमा अकबरे खुर्सानी लगाएका छन् । करिब गाउँपालिका भरिका ३ सय भन्दा बढी किसानहरूले खुर्सानी खेतीमा संलग्न भएका छन् । दोर्दी गाउँपालिका यसअघि २० रोपनीमा परीक्षणका रुपमा खुर्सानी खेती गरिएकोमा सफल भएपछि गाउँपालिका भरिका किसानले अकबरे खुर्सानी रोप्न सुरु गरेका थिए ।

गाउँपालिकाको ५० प्रतिशत लागत अनुदान तथा प्राविधिक सहयोग, र बजारको सुनिश्चित भएपछि यत्तिकै मिल्किएको बाँझो र पाखो बारीमा पनि अहिले खुर्सानी रोपेर उत्पादन लिन थालेपछि किसानहरु खुशी भएका छन् । अहिले अकबरे खुर्सानी फलेर अहिले विक्री वितरण भइरहेको छ । गाउँपालिकाले उत्पादन भएको खुर्सानीलाई काठमाडौँ, पोखरा, चितवन, बुटवललगायत शहरसम्म पुगेर बिक्री गर्ने व्यवस्था मिलाएको छ ।
गाउँपालिकाले कृषकहरूलाई व्यवसायीक अकबरे खुर्सानी खेतीको लागि लागतको ५०% अनुदान अर्थात् ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । साथै, बीउ, मल्चिङ प्लास्टिक, तालिम, स्प्रेयर लगायतका सहयोग पनि प्रदान गरेको दोर्दी गाउँपालिकाका प्रमुख कृषि शाखा, निराजन पौडेलले बताउनुभयो ।
खुर्सानीबाट यस वर्ष ४ सय देखि ५ सय मेट्रिक टन उत्पादन हुने र करिब रु ५ करोड सम्म आम्दानी हुने अनुमान गरिएको छ। एक पटक रोपेको खुर्सानीको विरुवाले ३ वर्षसम्म पनि उत्पादन दिने भएकाले अर्काेवर्ष यहि विरुवालाई लागत पनि न्यून हुने र राम्रो आम्दानी पनि हुने प्रमुख पौडेलले बतउनुभयो ।
हप्ताको प्रत्येक आइतबार र विहिबार बिहान सेरा बजारमा रहेको तरकारी संकलन केन्द्रमा खुर्सानी जम्मा गरिन्छ र त्यँहीबाट काठमाडौं पठाउने गरिएको छ । ब्यवसायिक तथा व्यवस्थित बनाउन वडास्तरीय किसान सञ्जाल समेत गठन गरिएको छ, जसले कृषि सहकारी मार्फत उत्पादन र बजार व्यवस्थापनमा सहयोग पु¥याउनेछ।
गाउँपालिकाले आगामी वर्ष अझ धेरै ठाउँमा अकबरे खुर्सानी रोपेर १ हजार रोपनी सम्म पुराउने लक्ष्य राख्दै यही खुर्सानी खेतीलाई दोर्दी गाउँपालिकाको स्थायी व्यवसाय बनाउने सोचमा अगाडि बढिरहेको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो । परम्परागत कोदो खेतीबाट खुर्सानी खेतीमा स्थानान्तरण गर्दा किसानहरूको आम्दानीमा बृद्धि भएको र जीवनस्तर सुधार भएको छ ।










