राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मथलोमा पूर्णकदको शालिक निर्माण

-


     भरत बाबु घिमिरे     
     वैशाख २१ गते २०८२ मा प्रकाशित


लमजुङको मस्र्याङदी गाउँपालिकाको वडा नं. ६ बाहुनडाँडामा राष्ट्रकवि माधव घिमिरकोे स्मृतिमा निर्माण गरिएको सालिकको अनावरण र पार्कको उद्घाटन गरिएको छ । आईतबार राष्ट्रपति पौडेलले शालिक तथा पार्कको एक समारोहका विच उद्घाटन गर्नुभएको हो ।

वि.सं. १९७६ असोज ७ गते लमजुङको पुस्तुन बाहुनडाँडामा जन्मिएका राष्ट्रकवि घिमिरेको “गौरी”, “मालती मंगले”, “शकुन्तला” चर्चित कृतिहरु हुन् । नेपाली साहित्यमा स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने कवि घिमिरे नेपाली साहित्यमा कविता, गीत र महाकाव्यका लागि चम्किला तारा हुन् ।

उनको जन्मथलो लमजुङको बाहुनडाँडामा मस्र्याङदी गाउँपालिकाले राष्ट्रकवि माधव घिमिरे पार्कको निर्माण का लागि बृहत गुरुयोजना नै बनाएको छ । गुरुयोजना सम्पन्न गर्नका लागि साढे ६ करोडको बजेट प्रक्षेपण गरिएको छ ।

उक्त पार्कका लागि गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको २० लाख, सामाजिक विकास कार्यालय मार्फत गण्डकी प्रदेश सरकारबाटै आएको थप ४ लाख र मस्र्याङदी गाउँपालिकाको ३ लाख रुपैयाँबाट पार्कको काम भइरहेको छ ।

१४ बर्षको उमेरमै बाहुनडाँडा माथिको हिमालचुली र मुन्तिरको मस्र्याङदीको सुसाईलाई महशुस गरेर कविता लेख्न थालेका माधव घिमिरे कालन्तरमा मुलुकको राष्ट्रकवि बन्न पुगे । नेपाली साहित्यमा महाकाब्य, खण्डकाब्य, गिती नाटक, गीत, फुटकर कविता, निवन्ध, बालसाहित्य र अनुवाद समेत गरी अनगिन्ती साहित्यिक रचना दिएर सदाका लागि अमर बनेका राष्ट्रकविको सम्मानमा उनको जन्मथलोमा पूर्णकदको सालिक सहित पार्क निर्माण गर्न लागिएको हो ।

राष्ट्रकवि घिमिरेले देश र नेपाली भाषा साहित्यमा पु¥याएको अतुलनीय योगदानको कदर गर्दै उनको सम्मान र उनलाई चिरकालसम्म जीवित राख्न राष्ट्रिय रुपमा राष्ट्रकविको पदवी दिइएको छ ।

पार्क करिब एक रोपनी जग्गामा फैलिएको र नजिकै राष्ट्रकविको घडेरीमा बाल उद्यानको निर्माण गर्न लागिएको छ । विश्व विख्यात अन्नपूर्ण पदयात्रा मार्ग अन्तर्गत पर्ने बाहुनडाँडाको चर्चा र ख्याती माधव घिमिरेको पूर्ण कदको सालिक र पार्कले थप उचो बनाउने विश्वास लिएको छ ।

१०१ बर्षको उमेरमा वि.सं. २०७७ साल भाद्र २ गते मङ्गलवार काठमाडौँ, लैनचौरस्थित आफ्नै निवासमा उनको निधन भएको थियो ।