
राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको ३ दिनभित्रै देशभरका परीक्षा केन्द्रमा एसईई उत्तरपुस्तिका परीक्षण गराउने निर्णय गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको विषयको उत्तरपुस्तिका ३ दिनभित्र परीक्षा केन्द्रमा नै परीक्षणको व्यवस्था गर्ने निर्णय गरेको शिक्षा सचिव चुणामणि पौडेलले बताए ।
‘यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय भएको छ । केन्द्रमा परीक्षण गर्न नसक्ने अवस्था आएमा परीक्षा सकिएकै दिन उत्तरपुस्तिका जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईमा ल्याएर परीक्षण गराउन सकिन्छ,’ उनले भने ।
उत्तरपुस्तिका परीक्षा सेन्टरमै परीक्षण गराउने कि इकाईमा ल्याएर परीक्षण गर्ने विषयमा सम्बन्धित इकाईलाई नै निर्णय गर्ने अधिकार दिइएको बोर्डले जनाएको छ । ‘तोकिएको समयभित्रै उत्तरपुस्तिका परीक्षण सकेर प्राप्ताङ्क बोर्डमा पठाउनुपर्ने जनाएको छ ।
त्यसपछि विद्यार्थीको प्राप्ताङ्क इन्ट्री र रुजु गरेर नतिजा प्रकाशन गरिने बोर्डले जनाएको छ । नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने निर्णय भएको उनले बताए । उक्त कार्यतालिकाअनुसार वैशाख मसान्तसम्म एसईईको नतिजा प्रकाशन हुनेछ ।
देशभर १ हजार ९ सय ६६ परीक्षा केन्द्र तोकिएका छन् । बिहीबारबाट सुरु हुने एसईई परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थीले परीक्षा दिँदैछन् । जसमा २ लाख ५७ हजार ६ सय १३ जना छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य विद्यार्थी परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रक टुकाराज अधिकारीले जनाए ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । समयतालिकाअनुसार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ । दोस्रो दिन चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय, २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ र २९ गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन हुनेछ ।
नियमित तथा ग्रेडवृद्धि दुवै समूह तर्फको परीक्षा सोही समयतालिकाअनुसार हुने कार्यालयले जनाएको छ । परीक्षा हलमा मोबाइल, स्मार्ट घडी जस्ता ब्लुटुथ चिप्स प्रयोग हुने विद्युतीय उपकरण प्रयोग गर्न रोक लगाइएको छ । अपाङ्गता भएका, सुत्केरी र किरियापुत्री परीक्षार्थीको सहजताका लागि केन्द्राध्यक्षले सहजीकरण गर्न सक्ने व्यवस्था छ ।









