
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भक्तपुरबाट पक्राउ गरेको हो भने सशस्त्र प्रहरीको सहयोगमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लेखकलाई भक्तपुरको कटुन्जेबाट शनिबार बिहान ५ः४० मा पक्राउ गरेको हो ।
नयाँ सरकार गठन भएपछि, मन्त्रिपरिषद्ले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय ग¥यो। आयोगले ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई जेनजी प्रदर्शनको घटनामा फौजदारी मुद्दा चलाउन सिफारिस गरेको थियो।

शुक्रबार नयाँ सरकार गठन भए लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले ओलीलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको थियो । गौरीबहादुर कार्की नेतृत्वको आयोगले चैत २४ मा बुझाएको प्रतिवेदनको आधारमा शुक्रबार मन्त्रिपरिषद्ले ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई फौजदारी मुद्दामा कारबाही गर्ने सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा काठमाडौँको बानेश्वरमा किशोरहरूमाथि गोली प्रहार गरेको घटनामा आयोगले उनीहरूलाई जिम्मेवार भनेको छ ।









