
२५ वर्षकी कल्पना सुनार प्रदेश अस्पताल लमजुङको हेमोडायलासिस कक्ष बाहिर बसिरहनुभएको थियो । उहाँको घर तनहुँको भानु ११ मा पर्छ । उहाको बुवालाई विगत २ वर्ष देखि मृगौलाको समस्या देखियो र अहिले उहाँ आफ्नो बुवाको डायलासिस गर्नको लागि प्रदेश अस्पताल लमजुङ आउनुभएको हो । विगत २ महिना देखि उहाँले आफ्नो बुवाको डायलासिस गर्न बेसीशहर धाउने गरेको बताउनुभयो ।
त्यो भन्दा अघि बुवाका उपचारको लागि उहाँले तनुहँको दमौलीमा कोठा भाडामा लिएर बसेको बताउनुभयो । अहिले लमजुङ अस्पतालमा डायलासिसको पालो पाएपछि निकै सहज भएको उहाँको भनाई छ । विहान आयो, डायलासिस गरेर सकिए पछि बेलुका घर फर्कियो । दमौलीमा भन्दा बेसीशहरमा सहज र नजिक भएको सुनारको भनाई छ ।
प्रदेश अस्पताल लमजुङ मा हाल ५६ जना मिर्गौला रोगीले नियमित डायलसिस सेवा लिइरहेका छन्। अस्पतालमा हाल ११ वटा डायलसिस मेसिन सञ्चालनमा रहेको छ भने १८ जना महिला र ३८ जना पुरुषले सेवा लिइरहेका छन् । प्रदेश अस्पतालमा डायलसिस सेवा लिने महिला भन्दा पुरुषको संख्या दोब्बर रहेको छ ।
अस्पतालमा अहिले मनाङको १ जना, तनहुँका २ जना र बाँकी लमजुङका बिरामी हेमोडायलसिस सेवा लिइरहेका छन् । यसमध्ये सबैभन्दा ज्येष्ट ७८ बर्षका पुरुष रहेका छन् भन् कम उमेरमा १४ वर्षको बालिकाले पनि डायलासिस सेवा लिइरहेको अस्पतालले जनाएको छ ।
यसअघि बिरामीहरू पोखरा, काठमाडौं तथा भरतपुर जस्ता सहरमा जानुपर्ने अवस्था थियो। जिल्लामै सेवा उपलब्ध भएपछि बिरामीलाई बाहिरी जिल्ला धाउनुपर्ने बाध्यता घटेको अस्पतालले जनाएको छ।
अस्पतालका मेसु शिशिर देवकोटाका अनुसार मिर्गौला फेल भएका बिरामीले हप्तामा २–३ पटकसम्म डायलसिस गर्नुपर्ने हुन्छ। मधुमेह, उच्च रक्तचाप तथा अन्य दीर्घरोगका कारण मिर्गौला समस्या बढ्दै जाँदा जिल्लामा डायलसिस सेवाको माग पनि क्रमशः बढिरहेको छ।
सुरुवाती चरणमा सीमित क्षमताबाट सुरु गरिएको सेवा अहिले विस्तार हुँदै आएको छ। अस्पतालमा उपलब्ध उपकरण, दक्ष जनशक्ति र तालिम प्राप्त नर्सिङ स्टाफमार्फत सेवा सञ्चालन भइरहेको छ। जिल्लामा मृगौला रोगीको संख्या धेरै भएको भएपनि सिमित स्रोत साधनका कारण सबैलाई सेवा दिन कठिन भएको मेसु देवकोटा बताउनुभयो ।
अस्पतालले सेवा अझ प्रभावकारी बनाउन थप उपकरण र जनशक्ति व्यवस्थापन गर्ने तयारी गरेको जनाएको छ। साथै, नयाँ भवन निर्माणसँगै अत्याधुनिक स्वास्थ्य सेवा विस्तार हुने अपेक्षा गरिएको छ ।









