लमजुङमा वर्षाले पुर्‍याएको क्षतिको स्थलगत अनुगमन, पुलदेखि सडकसम्म निरीक्षण

-


     नयाँ दीप    
     असाेज १२ गते २०८३ मा प्रकाशित


लमजुङ। असोज ९ देखि ११ गतेसम्म परेको भारीदेखि अति भारी वर्षाका कारण लमजुङमा भएको क्षतिको अवस्था बुझ्न जिल्ला विपद् व्यवस्थापन समितिको टोलीले विभिन्न स्थानको स्थलगत अनुगमन गरेको छ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालको नेतृत्वमा गएको टोलीले बेंसीसहर नगरपालिका–१ उदिपुर र वडा नं। ११ चिती जोड्ने पुलको उदिपुरतर्फ भासिएको जमिनको निरीक्षण गरेको हो। जमिन भासिएपछि उक्त पुलबाट ठूला सवारीसाधनको आवतजावत रोकिएको छ।

टोलीले पुलको जीर्ण तथा भत्किएको भाग तत्काल मर्मत गर्न पूर्वाधार विकास कार्यालयलाई निर्देशन दिएको छ। कार्यालयले मंगलबारदेखि मर्मतको प्रक्रिया अघि बढाउने जनाएको छ।

यसैगरी, असोज १० गते लेदोसहितको पहिरोले क्षति पुर्‍याएको बेंसीसहर–११ चितीका घरको समेत अनुगमन गरिएको छ। पहिरोका कारण प्रकाश सेढाई र विकास सेढाईको संयुक्त नाममा रहेको घर तथा रमेश डौलियाको घरमा पुगेको क्षतिको विवरण टोलीले संकलन गरेको छ।

अनुगमन टोलीले मर्स्याङ्दी गाउँपालिकाको कार्यालयदेखि ङादी जोड्ने सडकमा मर्स्याङ्दी नदीले पुर्‍याएको क्षतिको पनि निरीक्षण गरेको छ। असोज १० गते साँझ परेको भारी वर्षाका कारण नदीको बहाव बढ्दा सडकमा क्षति पुगेको हो।

अनुगमनमा प्रमुख जिल्ला अधिकारी खनालसँगै बेंसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, उपप्रमुख पदमा गुरुङ, प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेत, प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकाल, बेंसीसहर–११ का वडाध्यक्ष शिवप्रसाद जोशी, पूर्वाधार विकास कार्यालयका इन्जिनियर नरेशराज जोशीलगायत सहभागी थिए।

वर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रमा पुगेको क्षतिको अवस्था बुझेर आवश्यक मर्मत तथा व्यवस्थापनका लागि सम्बन्धित निकायलाई जानकारी गराउने उद्देश्यले स्थलगत निरीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी सचिवालयका खरिदार दिननाथ अधिकारीले जानकारी दिए।