
लमजुङमा फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दिएका १२ जनामध्ये ९ जना उम्मेदवारको जमानत (धरौटी) जफत भएको छ । कुल सदर मतको १० प्रतिशत मत कटाउन नसकेपछि उमेदवारहरुको जमानत जफत भएको हो ।
एउटामात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा १ स्वतन्त्र सहित १२ जनाले उमेदवारी दर्ता गराएका थिए । जसमा जमानत जोगाउनेमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसी, एमालेका पृथ्वीसुब्बा गुरुङ र कांग्रेसका गमप्रसाद गुरुङ मात्रै रहेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गर्दा हरेक उम्मेदवारले १० हजार रुपैयाँ धरौटी बुझाउनुपर्छ । महिला, दलित वा अल्पसंख्यक तथा आर्थिक रुपले विपन्नको हकमा ५० प्रतिशत छुटको व्यवस्था छ ।
सम्पन्न निर्वाचनमा लमजुङमा कुल मतदाता १ लाख ३७ हजार १ सय २४ रहेकोमा ७५ हजार ४ सय ६० मत अर्थात ५५ दशमलव ०३ प्रतिशत मत खसेको थियो । जसमा ७३ हजार १० मत सदर भएको थियो ।
निर्वाचनामा विजयी केसीले ३३ हजार ८ सय ९८ मत अर्थात ४६ दशमलव ४२ प्रतिशत मत प्राप्त गरेका छन् । एमालेका गुरुङले १६ हजार ८ सय ७६ मत अर्थात २३ दशमलव ११ प्रतिशत र कांग्रेसका गुरुङले १६ हजार ५ सय ६९ मत अर्थात २२ दशमलव ६९ प्रतिशत मत प्राप्त गरेका छन् ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का हरिजङ तामाङले ३ हजार ३ सय ७१ मत अर्थात ४ दशमलव ६१ प्रतिशत मत प्राप्त गर्दा जमानत जोगाउन नसकेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केविन्द्रजङ गुरुङले १ हजार मत अर्थात १ दशमलव ३६ प्रतिशत मत पाउँदा जमानत गुमाएका हुन् । बाँकी ७ जना १ प्रतिशत मत समेत ल्याउन सकेनन् ।
श्रम संस्कृति पार्टीका कोषलाल गुरुङले ५ सय ६५ मत, मंगोल नेश्नल अर्गनाइजेजनका विकास गुरुङले ३ सय ५१, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का रविन्द्र नखोलाले १ सय ४४ मत, स्वतन्त्र उम्मेदवार सन्तोष घिमिरेले १ सय ३० मत, जनादेश पार्टीका मिलन वास्कोटाले ५३, नेश्नल रिपब्लिक नेपालका भरत गुरुङले ४१ र नेपाल मजदुर किसान पार्टीकी गुजेश्वरी प्रजापति मगजुले १२ मत प्राप्त गरिन् ।
१० प्रतिशत मत ल्याउन नसकेका ९ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।










