लमजुङमा दोब्बर मतान्तरले रास्वपाका धर्म केसी विजय

-


     भरत बाबु घिमिरे     
     फागुन २३ गते २०८२ मा प्रकाशित


लमजुङबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धर्मराज केसी दोब्बर मतान्तरले निर्वाचित भएका छन् ।विजयी भएका केसीसगँ १७ हजार २२ मत अन्तरले नेकपा एमालेका नेता पृथ्वीसुब्बा गुरुङ पराजित भएका छन् ।

लमजुङ जिल्लामा कुल ७५ हजार ४ सय ६० मत खसेकोमा केसीले ३३ हजार ८ सय ९८ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले १६ हजार ८ सय ७६ मत र कांग्रेसका गमप्रसाद गुरुङले १६ हजार ५ सय ६९ मत प्राप्त गरेका छन् । नेकपाका हरिजङ तामाङले ३ हजार ३ सय ७१ मत पाएका छन् ।

केसी निकटतम प्रतिद्वन्द्वी एमाले–कांग्रेस उम्मेदवारलाई दोब्बर मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
लमजुङ जिल्लामा १ जना स्वतन्त्र उमेदवार सहित १२ जनाले उमेदवारी दिएका थिए । जसमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केबिन्द्र जगं गुरुङले १ हजार, नेपाल मजदुर किसान पार्टीबाट गुजेश्वरी प्रजापति मगजुले १२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट रविन्द्र नखोलाले १ सय ४४, श्रम संकृति पार्टीबाट कोषलाल गुरुङले ५ सय ६५, मंगोल नेसनल अर्गनाइजेसनका विकास गुरुङले ३ सय ५१, जनादेश पार्टी नेपालका मिलन बास्कोटा ५३, नेशनल रिपब्लिक पार्टीका भरत गुरुङले ४१ र स्वतन्त्र उम्मेदवार सन्तोष घिमिरेले १ सय ३० मत प्राप्त गरेका छन् ।

बिजयी हुने केसीले २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा ९ हजार २९ मत प्राप्त गरेर तेस्रो स्थान हासिल गरेका थिए । उक्त चुनावमा ३४ हजार ९ सय ६९ मत ल्याएर नेकपा (एमाले) का पृथ्वीसुब्बा गुरुङ विजयी भएका थिए ।

निकटतम प्रतिद्धन्द्धी तत्कालीन सत्ता गठबन्धन कांग्रेस–माओवादी केन्द्रका उम्मेदवार माओवादी केन्द्रका देवप्रसाद गुरुङले ३१ हजार ७ सय ८१ मत ल्याएका थिए ।