एसईईमा जिल्ला उत्कृष्ट हुने ५ जना पुरस्कृत

-


     नयाँ दीप    
     असाेज २ गते २०८२ मा प्रकाशित


शिक्षा दिवशको अवसरमा लमजुङ जिल्लाबाट २०८२ को माध्यमिक परीक्षामा एसईई उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु र विद्यालयलाई पुरस्कृत गरी सम्मान गरिएको छ ।

जिल्लाभरमा ४ जिपिए ल्याएर प्रथम हुने २ जना कुशुमाकर मा.वि, रामबजारका सदिक्षा अधिकारी र फ्युचर स्टार मा.वि भोटेओडारका सौजन्य अधिकारीलाई रु ७⁄७ हजारका साथमा प्रमाणपत्र दिएर सम्मान गरिएको छ ।

त्यस्तैगरी ३.९७ जिपिए ल्याएर द्धितीय हुने इशानेश्वर मा.वि भोर्लेटारका सचिन वि.कलाई ५ हजार, ३.९६ जिपिए ल्याएर तृतीय हुने जनकल्याण मावि उदीपुरका अनुपा जोशी र युनिर्भसल एकेडेमीका प्राप्ती सुयँललाई ३⁄३ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको छ । कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउन सफल हुने सोही विद्यालयका प्रधानाध्यापकहरुलाई पनि सम्मान गरिएको थियो ।

एसईई परीक्षामा यसवर्ष लमजुङ जिल्लाबाट २८ सय ११ जना विद्यार्थी सहभागी भएको जम्मा ६४.३९ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए ।

देश शोकमा रहेका कारण यो वर्षको शिक्षा दिवशमा अन्य तामझाम नगरी उत्कृष्ट विद्यार्थीहरुलाई मात्रै सम्मान कार्यक्रम गरिएको आयोजक शिक्षा समन्वय समिति लजमुङले जनाएको छ । सम्मानित हुनेहरुमा विरभक्ति मा.विका प्रअ नुरमहोमद मिया, यूनिभर्सल एकेडमीका प्रिन्सिपल विमल अधिकारी, कुशुमाकर माविका प्रअ ध्रुब घिमिरे, फ्युचर स्टार माविका संस्थापक बाबुराम पौडेल लगायत रहनुभएको थियो ।

जिल्ला समन्वय समितिका अध्यक्ष पूर्णबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, विरभक्ती मावि राइनासका प्रअ नुरमहोमद मिया र एसईईमा जिल्ला प्रथम भई पुरस्कृत छात्रा सदिक्षा अधिकारीले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा प्रमखु जिल्ला अधिकारी माधव प्रसाद पोखरेल, कोष तथा लेखा नियन्त्रक भवराज जोशी, जिल्ला समन्वय अधिकारी महेश सुवेदी, शसस्त्र प्रहरी प्रमुख शेखर दवाडी, जनस्वाथ्य प्रमुख प्रविणकुमार खनाल लगायत विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा शिक्षा समन्वय ईकाइका प्रमुख दिवाकर शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो भने सामाजिक विकास कार्यलयका कर्मचारी सिर्जना अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

यसवर्षको शिक्षा दिवशको नारा ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता, साझेदारी र प्रणालीगत सक्षमता भन्ने नारा तय गरिएको छ ।