
प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशीमा आएको विनाशकारी बाढी नेपालका लागि मात्र नभई विश्व समुदायका लागि समेत चेतावनी भएको बताउनुभएको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा विपद्को जोखिम बढ्दै गएको विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुभयो।
उहाँले भोटेकोशी बाढीका कारण ठूलो जनधनसँगै पूर्वाधार, जलविद्युत् आयोजना र सर्वसाधारणको जनजीवनमा क्षति पुगेको उल्लेख गर्नुभयो। जलवायु परिवर्तनमा न्यून योगदान गर्ने नेपालजस्ता मुलुकले त्यसको गम्भीर असर भोगिरहेको उहाँको भनाइ थियो।
हिमाली क्षेत्रमा बढ्दो तापक्रम, तीव्र गतिमा पग्लिरहेका हिमनदी र त्यसबाट उत्पन्न हुन सक्ने जोखिमलाई लिएर विश्व समुदाय गम्भीर बन्नुपर्नेमा प्रधानमन्त्री शाहले जोड दिनुभयो। जलवायु न्याय, सहज र पहुँचयोग्य जलवायु वित्त, प्रविधि हस्तान्तरण तथा विपद्पछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो।
जलवायुजन्य विपद्को क्षति घटाउन पूर्वतयारी, प्रभावकारी सूचना प्रणाली र जोखिम व्यवस्थापनमा लगानी बढाउनुपर्ने उहाँको भनाइ थियो।
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले विश्वव्यापी आपूर्ति प्रणालीमा देखिएको असमानताको विषयसमेत उठाउनुभयो। हतियार तथा गोलाबारुद विश्वका जुनसुकै स्थानमा छिटो पुर्याउन सक्ने संयन्त्र भए पनि किसानका लागि आवश्यक मल र इन्धन सहज रूपमा उपलब्ध गराउने प्रणाली कमजोर रहेको उहाँले टिप्पणी गर्नुभयो।
प्रधानमन्त्री शाहले नेपालको पछिल्लो राजनीतिक परिवर्तन र लोकतान्त्रिक प्रक्रियाबारे पनि महासभामा उल्लेख गर्नुभयो। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन नेपालको इतिहासकै शान्तिपूर्ण र निष्पक्ष निर्वाचन भएको उहाँले दाबी गर्नुभयो। निर्वाचनपछि बनेको सरकारले सुशासन, सुधार र जनमुखी शासनलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो।
सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले विश्व शान्ति र कल्याणको कामना गर्दै ‘भगवान् पशुपतिनाथले विश्वको कल्याण गरुन् । यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्’ भन्नुभयो।









