प्रदेश अस्पताल करिब ४ महिनादेखि नेतृत्व विहिन, अब योग्यताका आधारमा नेतृत्व चयन हुने

-


     सृजना बराल     
     मंसिर २० गते २०८२ मा प्रकाशित


प्रदेश अस्पताल लमजुङ करिव ४ महिना देखि व्यवस्थापन समिति विहिन बनेको छ । गत भदौ महिनाको १२ गते देखि तत्कालिन व्यवस्थापन समितिको म्याद सकिएपछि अस्पतालमा नयाँ समिति बन्न नसकेको हो ।

प्रदेश अस्पताल बेसीशहर लमजुङमा तत्कालिन भैरहेको व्यवस्थापन समितिको २०८२ भदौ १९ गते देखि म्याद सकिने भएपनि गण्डकी प्रदेश सरकारले भदौ ३ गते नै आफ्ना मातहत रहेका सबै अस्पतालहरुको व्यवस्थापन समिति खारेज गर्ने निर्णय गरेको थियो ।

नयाँ संरचना अनुसार अस्पतालको शैया संख्या अनुसार फरक–फरक व्यवस्थापन समिति गठन गरिने भए पनि करिब ४ महिना हुदाँ सम्म पनि नयाँ समिति गठन गर्न नसकेपछि अस्पताल नेतृत्वविहिन बनेको हो ।

नयाँ आदेशअनुसार १ सय शैया वा सोभन्दा बढी क्षमता भएका अस्पतालमा ७ सदस्यीय समिति रहनेछ भने स्नाकोत्तर उर्तिण हुनुपर्ने छ । त्यस्तै २५ र ५० शैयाको अस्पतालमा अध्यक्ष बन्नको लागि स्नातक स्तर उत्तीर्ण गरेका हुनुपर्ने प्रावधान राखिएको छ। यसअघि सबै अस्पतालमा एउटै प्रकारको समिति गठन हुने गरेको थियो।

नयाँ व्यवस्था अनुसार समिति गठन गर्ने र सदस्य चयन गर्दा योग्यता, स्थानीय, स्थायी बसोबास, कुनै आपराधिक सजाय नभएको, राजनीतिक तर्फबाट नभएको आदि मापदण्ड तय गरिएको छ।

अब अस्पतालको समितिको अध्यक्ष र सदस्य नियुक्तिमा राजनीति भन्दा बढी योग्यता र छानबिन हुने बताइएको छ। नयाँ गठन आदेशसँगै, पुरानो अभ्यास जसमा राजनीतिक दलका अगाडि–पछाडि नियुक्ति हुने प्रावधान रोकिने भएको छ ।

गण्डकी प्रदेशमा हालसम्म १४ अस्पताल र २ आयुर्वेद चिकित्सालय रहेका छन्। तीमध्ये लमजुङ अस्पताल पनि एक हो। गण्डकी प्रदेश सरकारले नयाँ व्यवस्थापन समिति गठन गर्ने तयारी गरेको बताइएको छ। समितिको कार्यकाल ३ वर्ष हुनेछ।

अस्पताल समिति विहीन रहँदा अस्पतालको दैनक कार्य, बजेट, निर्णय प्रक्रिया, आवश्यक जनशक्ति व्यवस्थापन जस्ता विषय प्रभावित भइरहेको प्रदेश अस्पताल लमजुङका मेसु शिशिर देवकोटालले बताउनुभयो ।