
बेसीशहर नगरपालिका ३ गाउँशहर स्थित लमजुङदरबार र कालिका मन्दिर परिसरमा मंसिर २ गतेदेखि भईरहेको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको सुरुवात देखि नै संकलित दान रकमले दिनहुँ अघिल्लो दिनको रेकर्ड तोडिरहेको छ।
छैटौंदिन आईतबार पौने बाह्रलाख रुपैयाँ दान संकलन भएकोमा सातौंदिन सोमबार झण्डै १३ लाख रुपैयाँ दान संकलन भएको छ। सोमबार मात्रै १२ लाख ९५ हजार चारसय २५ रुपैयाँ दान संकलन भएको छ। आईतबारसम्म संकलित रकम २९ लाख ४९ हजार ३५ रुपैयाँ २५ पैसा रहेकोमा सोमबारको रकम थपिँदा सोमबारसम्म महायज्ञमा कूल ४२ लाख ४४ हजार चारसय ६० रुपैयाँ २५ पैसा संकलन भएको प्रचारप्रसार उपसमितिका संयोजक राजेन्द्र बोहराले बताए। उनका अनुसार उदघाटनका दिन २८,४२० रुपैयाँ, दोस्रोदिन १,२६,१२५ रुपैयाँ, तेस्रोदिन २,४१,६९२ रुपैयाँ र चौंथोदिन २,५१,६१० रुपैयाँ र पाँचौंदिन ११,२०,१३९ रुपैयाँ २५ पैसा र छैटौं दिन ११ लाख ८१ हजार ५१ रुपैयाँ संकलन भएको थियो।
कालिका मन्दिरमा नित्य पुजारी व्यवस्थापन, धर्मशाला लगायतका संरचना निर्माण र मन्दिर क्षेत्र विकास सञ्चालन सहयोगको पवित्र लक्ष्यका साथ आयोजित महायज्ञमा सर्वाधिक दानदाताहरुलाई फूलमाला, दोसल्ला ओढाएर बाजागाजा बजाएर अविरजात्रा सहित यज्ञस्थल र कालिका मन्दिर परिसर परिक्रमा गरि सम्मान पत्रले सम्मान गरिएको छ। अन्य दाताहरुलाई फूलमाला, रामनामी ओढाएर अविर टिका सहित सम्मान पत्रले सम्मान गरिएको सम्मान तथा सत्कार उपसमितिका संयोजक तिलक दुलालले बताएका छन्।
भोलि बुधबारसम्म सञ्चालन हुने महायज्ञमा विभिन्न देवलिला सँगै धार्मिक चेतनामूलक नाटक प्रस्तुति सहित पण्डित दिपकप्रसाद पौडेलबाट कथावाचन भईरहेको कालिका मन्दिरका मूलपुरोहित एवं महायज्ञका श्रीगणेश सोमराज बरालले बताएका छन्।
उनका अनुसार प्रत्येक दिन बिहान ६ बजेदेखि ९ बजेसम्म श्रीमदभागवत सतचण्डी, वेदपाठ, रुद्राभिषेक, सहस्र जलधार, वेलपत्र अर्पण, ग्रहशान्ति पुजा, अन्नदान, भूमिदान, ब्राहम्ण भोजन सहित पितृको तस्विर राखि पितृ तर्पण, विवाह, व्रतवन्ध, गुन्युचोली सहित आरती अर्पण लगायतका धार्मिककार्य भईरहेको बताईएको छ।
कथा प्रवचन कार्यक्रम विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म र साँझ ७ बजेदेखि १० बजेसम्म महातम्य कथावाचन, झाँकी सहित भजनकिर्तन भएको पनि सचिवालयले जानकारी गराएको छ। आजभने साँझ महायज्ञस्थलमा लाखबत्ति बाल्ने विशेष कार्यक्रम रहेको बताईएको छ।
गाउँशहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिको आयोजना एवं बेसीशहर नगरपालिका वडा नं ३ को कार्यालयको संरक्षकत्वमा महायज्ञ सञ्चालन भईरहेको छ।









