
लमजुङका अलैंची किसान यतिवेला अलैंची टिप्न ब्यस्त छन् । असोज लागेपछि अलैंची टिप्न योग्य हुुनेभएपछि गाउँभन्दा बाहिर गएर पढ्न र बालबच्चा पढाउन शहर झरेका परिवारका सदस्यहरु पनि अलैंची टिप्न गाउँ गाउँ फर्कीएका छन् ।
जिल्लाको सात सय मिटरदेखि १२ सय मिटर उचाइमा लगाइएको अलैँची टिप्न सुरु गरिएको हो। यतिबेला जिल्लाको छिनखोलाल, बाहुनडाँडा, ताराचोक शेरा, कुप्लिङ र दुराडाँडा लगायतका ठाउँमा अलैंची टिप्ने व्यस्तता छ। जिल्लामा लगाइएको डम्बरशाही, जिर्मले र साउने जातको अलैंची टिप्न सुरु गरिएको नेपाल अलैंची व्यावसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अजय तामाङले बताए।
गतवर्ष लमजुङ जिल्लामा १ सय ५० टन अलैंची उत्पादन भएको र सो विक्रीबाट करिव १७ करोड रुपैँया आम्दानी भएको अलैंची जोन केन्द्र लमजुङले जनाएको छ । सिजनका बेला अलैंची २ हजार देखि २२ सय रुपैँया प्रति केजी सम्म विक्री हुने गरेको छ । लमजुङमा ७ सय हेक्टर क्षेत्रफलमा अलैंची खेती विस्तार गरिएको छ । जिल्लामा १५ हजार भन्दा बढी कृषकले व्यवसायीक अलैंची खेती गर्दै आएका छन्।

पछिल्लो समय लमजुङ अलैँची हबका रूपमा समेत परिचित हुँदै गएको छ। लमजुङको अलैंची गुणस्तरीय हुने भएकाले जिल्ला बाहिरका अलैंची कृषकसहित भुटानका अलैंची व्यापारीसमेत अलैंची हेर्न लमजुङ आउने गर्दछन् । अलैंची खेती बिस्तार भएसँगै गाउँगाउँमा अलैंची खेती हेर्नकै लागि आन्तरिक पर्यटक पुग्ने गरेको मस्र्याङदी गाउँपालिका वडा नं ६ छिनखोलाका किसान सुकबहादुर तामाङले बताए ।
गाउँका बुढापाका, बालबालिका तथा युवायुवती अलैंची टिप्न र सुकाउन लागेका छन् । जंगलका अलैंची बगानदेखि गाउँका अलैंची सुकाउने भट्टीसम्म कृषकको जमघट छ ।
असोज महिना सुरु भएयता अलैंची टिप्ने र सुकाउने काममा खटिएका किसानहरु कार्तिकको १५ सम्म सबै सुकाएर बिक्रीका लागि तयारी अवस्थामा पुराउँछन् । देशभर दशैं, कतिहार जस्ता चाडवाडको चहलपहल भएपनि अलैंची रोप्ने किसानहरुलाई भने अलैंची बगान पुगेर टिप्ने र भट्टीमा सुकाउनेको चटारो हुने गरेको छ ।
अलैंची पाकिसकेकाले सवै किसान अलैंची बारी र भट्टीमा रहेको उनले बताए । पाकिसकेको अलैंची समयमा टिपिएन भने बिस्तारै ढुसी बढ्ने किसानको भनाई छ ।









