लमजुङ दरबारको निर्माण कार्य बजेट अभावमा अलपत्र

-


     भरत बाबु घिमिरे     
     असाेज २७ गते २०८२ मा प्रकाशित


लमजुङको बेँसीसहर नगरपालिका वडा नं ३ गाउँशहरमा रहेको लमजुङ दरबारको निर्माण रोकिएको छ। २ वर्षमा सक्ने लक्ष्यका साथ पुरानै स्वरुपमा निमार्ण गरिएको दरबारको रकम अभावमा निर्माण कार्यमा ढिलाई भएको हो ।

सोह्रौँ शताब्दीमा बनेको उक्त दरबार जीर्ण भएपछि पुरातत्त्व विभागले तीन वर्षअघि पुनर्निर्माण थालेको थियो। बाइसे,चौबीसे राज्यका पालाको लमजुङ दरबार पुनर्निर्माणले गति लिन नसक्दा स्थानीय चिन्तित बनेका छन्।

स्थानीयले धार्मिक तथा ऐतिहासिकस्थल लमजुङ दरबार र कालिका मन्दिरको पुनर्निर्माणमा सरकारले पर्याप्त बजेट नपठाउँदा हाल निर्माणकार्य अलपत्र अवस्थामा रहेको बताएका छन् । दरबार र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोहराले सरकारले आवश्यक बजेट उपलब्ध नगराउँदा निर्माणकार्य ढिलाइ भइरहेको र हालसम्म काम नभएको बताए।

पुरातत्व विभागका अनुसार दरबार पुनर्निर्माण करिब ७० प्रतिशत भौतिक प्रगति भएको छ। पुनः निर्माणका लागि करिव ७ देखि ८ लाख सम्म खर्च लाग्ने अनुमान गरिएको छ । पहिलो वर्ष भक्तपुरको निर्माण कम्पनी एनपीएस र दोस्रो वर्ष भक्तपुरकै आरजीएस÷विष्णु जेभीले दरबार पुनर्निर्माणको जिम्मा पाएको थियो।

बजेट अभावका कारण निर्माणकार्य लम्बिइरहेको र यस वर्ष जम्मा ६५ लाख रुपैँया छुट्याएको र सोे बजेटले पनि निर्माण सम्पन्न नहुने कालिका मन्दिरका मुल पुरोहित सोमराज बरालको भनाइ छ। समयमा निर्माण कार्य नहुँदा पुजाआजाका लागि समेत कठिनाई भएको छ ।

पुरानै शैली र स्वरूपमा दरबारको पुनर्निर्माण भइरहेको छ। दरबार बुइँगलसहित तीनतले र कालिका मन्दिर प्यागोडा (छाने शैली)को बन्नेछ। दरबार बनाउन चाहिने इँटा, काठ, सुर्कीलगायत निर्माण सामग्री भक्तपुरबाट ल्याएर प्रयोग गरिएको छ।
‘सामजिक महत्वको दरवार र मन्दिरको पुनर्निर्माण तथा व्यवस्थापनमा संघ, प्रदेश सरकार र स्थानीय तहले बजेट उपलब्ध गराएर जतिसक्दो छिटो सम्पन्न गर्न स्थानीयले माग गरेका छन्। दरबारले १६ रोपनी क्षेत्रफल ओगटेको व्यवस्थापन समितिले जनाएको छ।

‘वि सं १५५० मा यशोब्रह शाहको पालामा निमार्ण गरिएको लमजुङ दरवारको पहिलो पटक १८२० पुननिर्माण गरिएको थियो । त्यस पश्चात दोस्रो पटक १९९० को भुकम्प पश्चात १०९२ मा जीर्णोउद्धार गरिएको थियो । त्यस्तैगरी फेरी दरवार वि सं २०४६ सालमा पुननिमार्ण गरिएको थियो । २०७२ सालको भुकम्पले चर्केको लमजुङ दरवारमा २ पटक चटयाङले थप जीर्णअवस्था पुर्याएको थियो । पानी चुहिने अवस्थामा जीर्ण पुगेको थियो ।

मन्दिरमा रहेका महेश्वर, विष्णु, ब्रह्म, महाकाली, महासरस्वती र महालक्ष्मी लगायतका देवी देवताको मूर्ति नयाँ भवनमा सारिएको छ । लमजुङ दरबारको पुनः निमार्ण कार्य गरिदा पुरानै स्वरुपमा इटा, ढुंगा, काठ, र तामाको छाना राखिने बताइएको छ ।

शाह वंशको शुरुवात लमजुङका यशोव्रह्म शाहको पालाबाट भएको मानिन्छ । यशोव्रह्मा शाह लमजुङका राजा थिए । उनैले लमजुङ दरबार निमार्ण गरेको बताइएको छ । गर्मि समय चैत्र वैशाखमा पुरानकोट गढीमा बस्ने, अन्य समय जाडोको समयमा गाउँशहरमा रहेको लमजुङ दरबार र वेसिशहरमा बस्ने गरेको इतिहासविदहरुको भनाइ छ ।

वडा दशैं र चैते दशैंमा यो गाउँशहरमा रहेको कालिका मन्दिरमा पञ्चवली, बली दिनुका साथै विषेश पुजा गरिन्छ ।