
लमजुङमा जिल्लाव्यापी विज्ञान प्रर्दशनी प्रतियोगिताको आयोजना गरिएको छ । बेसीशहरको बालकल्याण माविमा आयोजना गरिएको विज्ञान प्रर्दशनीमा सुन्दरबजार नगरपालिका खहरेको विद्याज्योति माध्यमिक विद्यालय प्रथम भएको छ ।
त्यस्तै आदर्श बाल माध्यमिक विद्यालय सुन्दरबजार द्धितीय भएको छ भने ल्याण्डस्टार बोर्डिङ बेसीशहर तृतीय र बालकल्याण मावि भकुन्डे सान्त्वना भएका छन् । विजेता हुने प्रथमले १५ हजार द्धितीयले १३ हजार, तृतीयले ११ हजार र सान्त्वनाले ५ हजार पुरस्कार प्राप्त गरेका छन् ।

कार्यक्रमको प्रमुख अतिथि बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले उद्घाटन गर्नुभएको हो । कार्यक्रमको उद्घाटन गर्दै बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले यस्ता प्रदर्शनीले विद्यार्थीमा हौसला र प्रेरणा दिने बताउनुभयो । नगरप्रमुख अर्यालले अहिलेको युग विज्ञान र सूचनाको युग भएकोले यस क्षेत्रमा दक्षता हासिल गरेमा हरेक विद्यार्थीको जिवनमा परिवर्तन आउने बताउँदै हामी पनि समयअनुसार परिवर्तन हुनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रमा बेसीशहर नगरपालिका वडा नं २ वडाध्यक्ष मदन राना, निवृत्त शिक्षक अगंराज घिमिरे, विज्ञान शिक्षक समाज गण्डकी प्रदेशका संयोजक राजकुमार ढकाल, बालकल्याण माविका प्रअ डिल्लीराज ढकाल, निवृत्त शिक्षक समाज केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष तोयनाथ बराल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
प्रतियोगितामा जिल्लाभरका २१ विद्यालयले सहभागिता जनाएका थिए । बालबालिकाहरुले मानव शरीरका स्वचालित अगंहरु, हाइड्रो, सुरक्षा, सुचना प्रविधीसगँ सम्वन्धित लगायतका सामाग्रीहरु निर्माण गरी प्रर्दशनी गरेका थिए । स्थानीय स्तरमा प्राप्त हुने सामाग्री र सकेसम्म कम मुल्य पर्ने सामाग्रीहरु प्रयोग गरी विज्ञानका सामाग्रीहरु निर्माण गरिएको समाजका अध्यक्ष विष्णुप्रसाद बरालले बताउनुभयो ।

विज्ञान समाज लमजुङका अध्यक्ष विष्णुप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रमको सचिव रविन्द्र न्यौपानेले सहजिकरण गर्नुभएको थियो ।
समाजलाई सहयोग गरेको भन्दै पूर्व शिक्षक मानबहादुर विकलाई सम्मान गरिएको थियो । विज्ञानमा महिलाको पहुँचअन्तराष्ट्रिय दिवशको अवसरमा विज्ञान शिक्षक समाज (स्ट्यान नेपाल) लमजुङ र निवृत्त शिक्षक समाज दोर्दीको संयुक्त आयोजनामा भएको हो ।
